ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी

वैशाख ४, काडमाडौं— धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरमा रहेको जनकपुर रिफाइनरी इण्डष्ट्रिजमा बिहीबार राति आगलागी भएको छ । राति करिब १० बजे उद्योगमा आगलागी हुँदा करिब १५ करोड रुपियाँ बराबरको क्षति भएको उद्योगका प्रबन्धक सन्जय गुप्ताले जानकारी दिनुभयो ।
Advertisement 1
जनकपुर, महेन्द्रनगर र ढल्केवरबाट खटिएका पाँचवटा वारुणयन्त्र तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको उहाँले बताउनुभयो ।
आगलागीका कारण उद्योगमा रहेका स्टिम र थर्मोफुल गरी दुईवटा प्रसोधन मेसिनमा गम्भीर क्षति पुगेको प्रबन्धक गुप्ताले जानकारी दिनुभयो । दुवै प्रसोधन मेसिन पूर्णरूपमा प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्, त्यस हिसाबले पनि करिब १५ करोड रुपियाँ बराबरको क्षति भएको उहाँको भनाइ छ । उहाँका अनुसार क्षतिको यकिन विवरण सङ्कलन गर्न अझै दुई(तीन दिन लाग्नेछ ।
Advertisement 2
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीले आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
(स्रोतः गोरखा पत्र अनलाईन)

