काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
मंगलबार दिउँसो स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १२ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो। मंगलबार थपिएकासहित नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ४० हजार ५२९ पुगेको छ।
जिल्लागत रुपमा सोमबार पनि सबैभन्दा बढी काठमाडौंमै ३९३ जनामा संक्रमण पुष्टि भएको छ भने रुपन्देहीमा ९१ जनामा संक्रमण देखिएको छ। त्यस्तै, ललितपुरमा ५८ जना र भक्तपुरमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबारको तथ्यांक हेर्दा काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ४८१ जनामा संक्रमण देखिएको छ।
मंगलबार कुन जिल्लामा कति कोरोना संक्रमित ?
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार उदयपुरमा १ जना, ओखलढुंगामा २, खोटाङमा २, झापामा १४, मोरङमा १२, पाँचथरमा १ र सुनसरीमा ५६ जनामा कोरोना पुष्टि भएको छ। धनुषामा १, पर्सामा २, बारामा ११, महोत्तरीमा २, रौतहटमा ५, सप्तरीमा १ र सर्लाहीमा १९ जना संक्रमित भेटिएका छन्।
त्यसैगरी काठमाडौंमा ३९३, काभ्रेमा ८, चितवनमा ४५, दोलखामा ११, धादिङमा ११, भक्तपुरमा ३०, मकवानपुरमा ६, रामेछापमा २, ललितपुरमा ५८, सिन्धुपाल्चोकमा १, रसुवामा १, नुवाकोटमा २ र सिन्धुलीमा ७ जना संक्रमित फेला परेका छन्। कास्कीमा ४, गोरखामा ८, तनहुँमा ५, नवलपरासी पूर्व १५, पर्वतमा १ र लमजुङमा ३२ जना संक्रमित थपिएका छन्। अर्घाखाँचीमा ९, कपिलवस्तुमा ७, नवलपरासीमा ४, पाल्पामा १, गुल्मीमा १३, दाङमा १३, प्युठानमा १, बाँकेमा ३३, बर्दियामा ७, रुकुम पूर्वमा १ र रुपन्देहीमा ९१ जना संक्रमित भेटिएका छन्। जुम्लामा २, सल्यानमा १, दैलेखमा २ र सुर्खेतमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अछाममा १३, कञ्चनपुरमा ४, कैलालीमा २०, डोटीमा २४, बझाङमा ४०, डडेल्धुरामा २ र बैतडीमा १२ जना संक्रमित फेला परेका छन्।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७६८ जना कोरोना संक्रमित बिरामीहरु डिस्चार्ज भएका छन् भने अहिलेसम्म २२ हजार १७८ जना उपचारपछि घर फर्किएका छन्। यो कूल संक्रमितको ५५ प्रतिशत रहेको प्रवक्ता गौतमले बताउनभयो। त्यस्तै, देशभर संस्थागत आइसोलेन १० हजार ८३२ जना र होम आइसोलेनमा ७ हजार २८० मा गरी १८ हजार ११२ जना संक्रमित व्यक्तिहरु आइसोलेसनमा रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो।