काठमाडौं | भाद्र १७— काठमाडौं, भक्तपुर र ललितपुरमा जारी निषेधाज्ञा थप एक साता थपिएको छ। गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेका हुन्।
बितेका दुई साताभन्दा केही खुकुलो हुने गरी एक साता निषेधाज्ञा थपिएको बताइएको छ। यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको र त्यसबारे केहीबेरमा सूचना जारी गरेर जानकारी गराइनेछ। औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि पनि रोक लगाइएको थिएन। यद्यपि, बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने भनिएको थियो।
नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको थियो। होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन्। बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन्।
उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले भदौ ३ देखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए। तर, भदौ १० मा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो। १० गते थपिएको निषेधाज्ञा बुधबार मध्यरातिबाट सकिँदैछ।