काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरूद्ध चीनमा तेश्रो चरणको परीक्षणमा रहेको खोपलाई नेपालमा पनि परीक्षणका लागि अनुमति दिने विषयमा छलफल अघि बढिरहेको खुलेको छ।
स्वास्थ्य मन्त्रालय हुँदै आएको उक्त प्रस्तावमा चिनियाँ लगानीमा नवलपरासीमा रहेको सिमेन्ट कारखानामा कार्यरत चिनियाँहरूमा सो खोपको परीक्षण गराउने प्रस्ताव गरिएको बीबीसीले लेखेको छ।
उक्त रिपोर्ट अनुसार अघिल्लो साता स्वास्थ्य मन्त्रालयले उक्त विषयबारे परराष्ट्र मन्त्रालयमा पत्र पठाएको र त्यसबारे परराष्ट्र र नेपालमा औषधि तथा खोपहरूको परीक्षणको नियमन गर्ने निकाय राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्बीच कुराकानी भइरहेको बताइएको छ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार नेपालमा ‘तेश्रो चरणको क्लिनिकल ट्रायल’ को अनुमति दिन माग गरिएको प्रस्तावमा नवलपरासीमा कारखाना रहेको होङ्सी शिवम सिमेन्टमा कार्यरत चिनियाँहरूमा खोप लगाउने भनिएको छ।
हालसम्म कोरोनाभाइरसको खोपको परीक्षणमा नेपाल सहभागी भइसकेको छैन। अधिकारीहरूले कोभिड–१९ का बिरामीको उपचारमा प्रयोग हुने गरेको रेम्डेसिभीर नामक औषधिको परीक्षण भने सुरु गर्न लागिएको जनाएका छन्।
नेपालकै सबैभन्दा ठूलो भनिएको उक्त सिमेन्ट कारखानामा चीनको होङ्सी समूहअन्तर्गतको हङकङ रेड लायन नम्बर ३ सिमेन्ट कम्पनी लिमिटेडको ७० प्रतिशत र नेपालको शिवम सिमेन्टको ३० प्रतिशत साझेदारी छ। झण्डै ३६ अर्ब रुपियाँको लगानी रहेको सिमेन्ट कारखानामा लगभग २०० जना चिनियाँहरू कार्यरत रहेको बताइन्छ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष तथा होङ्सी सिमेन्टका निर्देशक सतीश मोरले उक्त प्रस्ताव अझै छलफलको चरणमा रहेको बताउनुभयो। “हामीले तेश्रो चरणको परीक्षणमा रहेका चिनियाँ खोपहरू मगाउन सकिन्छ कि भनेर कोशिश गरेका हौँ। नेपाल र चीन दुवैको सरकारी पक्षले अनुमति दियो भने मात्रै त्यस्तो हुनसक्छ। अहिलेसम्म त्यो विन्दुबाट हामी टाढै छौँ।”
सुरुमा चिनियाँ कामदारमा परीक्षण गरिए पनि पछि अरू नेपालीहरूसम्म पनि उक्त परीक्षण विस्तार गर्न सकिने मोरले बताउनुभयो। उक्त सिमेन्ट कारखानाले त्यहाँ कार्यरत नेपालीहरूलाई पनि कोभिड–१९ को खोपको परीक्षणमा इच्छा रहे या नरहेको सहितको बेहोराको फाराम भर्न लगाएको थियो।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डाक्टर प्रदीप ज्ञवालीले भन्नुभयो, “कोभिड–१९ विरूद्धको खोपको तेश्रो चरणको परीक्षणका लागि चिनियाँ समूह नेपालमा आउन इच्छुक रहेको छ। यसबारेमा कागजी प्रक्रिया अघि बढाउन सकिन्छ भनेर मैले भनेको छु।”
उक्त खोपको परीक्षण नेपालमा काम गरिरहेकालाई चिनियाँहरूलाई मात्रै नभइ अरूलाई पनि गर्न सकिन्छ भन्ने इच्छा आफूहरुले राखेको ज्ञवालीले बताउनु भयो। (यो समाचार आजको halkaranews.com मा प्रकाशित)