एजेन्सी
टोक्यो — जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । प्रधानमन्त्री आबेले शुक्रबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिएका हुन् । स्वास्थ्यमा समस्या देखिएका कारण आफूले राजीनामा दिएको बताएका छन् ।
जापानी सञ्जारमाध्यम एनएचकेका अनुसार आबेले यही हप्ता दुई वटा अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए । आबे लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित भएको र पछिल्लो समय स्वास्थ्य अवस्थामा बिग्रिएको बताइएको छ ।
आबेले आफूलाई १३ वर्षदेखि अल्सरेटिभ कोलाइटिसको समस्या देखिएको आबेले पत्रकार सम्मेलनमा बताए । ८ वर्षसम्म आफूलाई यो रोगले नसताए पनि यस वर्ष जुनमा गरिएको परीक्षणपछि भने आफूलाई समस्या देखिएको उनले बताए । आफूले अहिले औषधि लिइरहेको पनि बताए ।
आफूले नागरिकको जनमतको कदर गर्दै राजीनामा दिएको पनि आबेले स्पष्ट पारेका छन् । अब आफूले स्वास्थ्यलाई मध्यनजर गर्दै राजीनामा दिनुपरेको पनि उनले बताए । कोरोना महामारीका कारण सिर्जित समस्यालाई नयाँ नेतृत्वले समाधान गर्ने पनि उनको भनाई थियो । जनसमर्थन हुँदाहुँदै र कार्यकाल एक वर्ष बाँकी रहँदै राजीनामा दिनु परेकोमा उनले जापानी नागरिकसमक्ष माफी मागेका छन् ।