एजेन्सी | भाद्र १६— अमेरिकी कम्पनीसँग मिलेर ताइवानमा एफ(१६ युद्धक विमान सर्भिस सेन्टर खोलिएको छ।
ताइवान एरोस्पेस इन्डस्ट्रियल डेभलोपमेन्ट कर्पोरेसन एआइडीसी र अमेरिकी लकहिड मार्टिनले ताइवानको मध्यक्षेत्र सालुमा एफ(१६ युद्धक विमान सर्भिस सेन्टर खोलेको एससीएमपीले जनाएको छ। गत शुक्रबार मात्र उक्त सर्भिस सेन्टर खोलिएको हो। इन्डो(प्यासिफिक क्षेत्रमा स्थापना गरिएको यो नै पहिलो एफ(१६ सर्भिस सेन्टर हो।
चीनले आफ्नो क्षेत्रको रुपमा दावी गर्दै आएको ताइवानमा अमेरिकी कम्पनीसहितको लडाकू विमान सर्भिस सेन्टर खोलिएपछि चीन थप रुष्ट बनेको बताइएको छ। ताइवान आफ्नो भूभाग भएको दावी गर्दै चीनले आवश्यक परे आक्रमण गरेरै ताइवानलाई नियन्त्रणमा लिनसक्ने बताइरहेको छ। तर, अमेरिकाले ताइवानलाई बेग्लै देशको दर्जा दिदै चीनमाथि थप दबाब सिर्जना गर्न र एसियामा आफ्नो सैन्य उपस्थिति थप बलियो बनाउन ताइवानसँग सैन्य सम्बन्ध बढाउँदै लगेको छ।
ताइवानले पनि आफूले चीनको भनाइ नमान्ने र आफू स्वतन्त्र देश भएको बताउँदै अमेरिकाकै पक्षमा उभिएको छ। देशकै बारेमा चीन र ताइवानबीच विवाद भइरहँदा अमेरिकी कम्पनीसँग मिलेर ताइवानले एफ(१६ विमान सर्भिस सेन्टर खोलेपछि चीन क्रूद्ध बनेको बताइएको छ। अमेरिकी र ताइवानको कम्पनीले संयुक्त रुपमा सर्भिस सेन्टर खोलेपछि यसले अमेरिका र ताइवान सुरक्षा सम्बन्धमा झनै नजिक बनेको संकेत गर्ने विश्लेषण गरिएको छ। बेइजिङसँग अमेरिकी तनाव बढिरहेको समयमा अमेरिकाले ताइवानसँग थप मजबुत सम्बन्ध बनाउँदै आएको छ।