काठमाडौँ — निषेधाज्ञाको अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा एउटा बैंकको एक शाखा मात्र खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञाको पालना गर्नकै लागि बैंकर्स संघले शुक्रबारदेखि एक जिल्लामा हरेक बैंकको एउटा शाखा मात्र खोल्ने निर्णय गरेको छ ।
‘उपत्यकाका तीन जिल्लामा दैनिक हरेक बैंकका एक/एक शाखा मात्र खुल्नेछन्,’ बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले भने, ‘बैंकहरूले आलोपालोका आधारमा कुन शाखा खोल्ने भन्ने निर्णय गर्नेछन् ।’ ती शाखाबाट पनि सीमित बैंकिङ (आधारभूत) सेवा मात्र प्रवाह हुनेछ । शुक्रबारदेखि बैंकका कर्मचारी कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् ।
हरेक दिन उपत्यकाका तीन जिल्लामा गरी एउटा बैंकमा ३० भन्दा बढी कर्मचारी नबोलाउने निर्णय भएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए । निषेधाज्ञाको समयमा सर्वसाधारणको आवतजावत कम हुने भएकाले उपत्यकामा एउटा बैंकका तीन वटा शाखा मात्र सञ्चालन हुने उनले बताए । ‘कोभिडको जोखिम उच्च छ, जोखिमबाट बच्नकै लागि पनि ग्राहकको भीड कम गर्न खोजेका हौं,’ उनले भने ।
Source: ekantipur.com