एजेन्सी
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट व्यक्तिको संख्याको आधारमा भारत विश्वको दोस्रो सबैभन्दा बढि प्रभावित मुलुक बनेको छ। संक्रमित संख्याको आधारमा ब्राजिललाई पछि पार्दै भारत दोस्रो स्थानमा उक्लिएको हो।
कोरोना संक्रमित हुने मानिसहरुको संख्या तथा निधन हुनेको संख्याको आधारमा पहिलो नम्बरमा भने अहिले पनि अमेरिका नै रहेको छ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ४२ लाख चार हजार ६१४ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९० हजार ८०२ नयाँ संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९० हजार ८०२ नयाँ संक्रमित थपिएका हुन्।
ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या ४१ लाख ४० हजार नाघेको छ।
भारतमा कोरोना भाइरसको कारण निधन हुनेको संख्या पनि ७१ हजार ६४२ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार १६ जनाको निधन भएको थियो।
कोरोनाबाट निधन हुनेको संख्याको आधारमा भने भारत तेस्रो स्थानमा नै छ। ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको कारण एक लाख २६ हजार ६५० जनाको निधन भइसकेको छ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका ३२ लाख ५० हजारभन्दा धेरै संक्रमित डिस्चार्ज भइसकेका छन् भने आठ लाख ८२ हजारभन्दा धेरै संक्रमित उपचारकै क्रममा रहेका छन्।
कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा भने अहिलेसम्म ६१ लाख ८९ हजार ४८८ जना संक्रमित भएका छन्। त्यसमध्ये १ लाख ८७ हजार ५४१ को निधन भइसकेको छ।