काठमाडौं — काठमाडौं उपत्यकामा कोरोना भाइरसबाटबाट संक्रमित बिरामीको संख्या बढ्दै जान थालेपछि निषेधाज्ञा थप कडा बनाउन थालिएको छ।
काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले जारी गरेको निषेधाज्ञामा खाद्यान्न, तरकारीलगायत अत्यावश्यक वस्तुहरु निर्वाध खोल्न, चलाउन दिइने बताइएको थियो । तर, आइतबारदेखि त्यो प्रावधानमा पनि कडाई गरिने भएको छ।
अब उपत्यकाभित्रका तीनवटै जिल्लामा खाद्यान्न तथा तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने भएको छ। उपत्यकाभित्रका नागरिकहरु दिनभरजसो तरकारी र खाद्यान्न किन्न भन्दै घर बाहिर निस्किन थालेपछि निश्चित समय तोकेर खाद्यान्न र तरकारी पसल खोल्न दिने निर्णय गरिएको बताइएको छ।
उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो। खाद्यान्न, तरकारीजस्ता वस्तु किन्ने नाममा आम नागरिक दिनभर घर बाहिर निस्किरहने भएकाले अत्यावश्यक वस्तुमध्ये खाद्यान्न, फलफूल, तरकारी, माछामासु लगायत विक्री वितरण गर्ने पसल बिहान मात्र खोल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो।
औषधि, पानी र स्वास्थ्य सामग्री विक्री वितरण गर्ने पसल भने जुनसुकै समयमा निर्वाध रुपमा चलाउन सकिने छ। खाद्यान्न र तरकारी किन्ने बहानामा नागरिकको भीडभाड निकै बढेको र कोरोना भाइरस संक्रमणको जोखिम झन बढ्दै गएकाले निषेधाज्ञा थप कडा बनाउनुपरेको दाहालको भनाई छ।