काठमाडौं । भदौ २४— पछिल्लो २४ घण्टामा मुलुकभर थप १ हजार ८१ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

Ministry of Health
and Population
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले ११ हजार १६७ पीसीआर परीक्षण गर्दा १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको बताएका हुन्। बुधबारसम्म पुष्टि भएका संक्रमितसहित नेपालमा कूल ४९ हजार २१९ व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
त्यसमध्ये ३३ हजार ८८२ जना निको भएर घर फर्किइसकेका छन् भने ३१२ जनाको निधन भइसकेको छ। त्यसैगरी संस्थागत आइसोलेसनमा ७ हजार ९८८ र होम आइसोलेसनमा ७ हजार ३७ जना गरी १५ हजार २५ जना देशभरका विभिन्न आइसोलेसनमा रहेको प्रवक्ता डाक्टर गौतमले जानकारी दिए।
त्यसैगरी जिल्लागत रुपमा हेर्दा काठमाडौं जिल्लामा अहिलेसम्मकै धेरै ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सिराहामा ८१ जना, मोरङमा ७७ जना र रौतहटमा ७० जनामा संक्रमण देखिएको छ।