काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरु भेटिएका छन्।
आइतबार दिउँसोसम्मको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा मात्रै ४२९ जना कोरोना भाइरस संक्रमितहरु थपिएका हुन्।
आइतबार दिउँसो स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित भेटिएको जानकारी दिनुभएको हो।
प्रवक्ता गौतमका अनुसार काठमाडौं जिल्लामा ३७२ जना, भक्तपुरमा १२ जना र ललितपुरमा ४५ जना कोरोना संक्रमित व्यक्तिहरु भेटिएका छन्। पछिल्लो २४ घण्टामा देशभर १२२१ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताउनुभयो।