प्रिन्ट मिडियामाथि न्यु मिडियाको प्रभाव

नेपालमा सञ्चार क्षेत्रको इतिहास हेर्दा वि.सं. १९०८ मा जङ्गबहादुर राणाले आफ्नो १ वर्षे बेलायत भ्रमण सकेर फर्कदा साथैमा ल्याएको ‘गिद्धे प्रेस’ (जसको वास्तविक नाम कोलम्बियन प्रिन्टिङ प्रेस थियो) बाट नै छापाखानाको औपचारिक शुरुआत भएको मानिन्छ । नेपालमा पहिलो पटक आमसञ्चार र पत्रकारिताको शुरुवात ‘सुधासागर’ साहित्यिक पत्रिकाको वि.सं. १९५५ भएको प्रकाशनबाट भएको थियो । त्यस्तै सबैभन्दा पुरानो दैनिक पत्रिका गोरखापत्र वि.सं. १९५८ मा प्रकाशन भए पश्चात नेपालमा पत्रकारिताले नयाँ मोड लिएको थियो ।
Advertisement 1
न्यु मिडियाको उदय र प्रिन्ट मिडियाको बदलिँदो अवस्था
छापा, रेडियो र टेलिभिज जस्ता परम्परागत माध्यमको अभ्यासमा स्थापित पत्रकारिताको परिभाषा इन्टरनेटको विकासले फेरिदिएको छ । जोन्स (२००३) का अनुसार— समाचार सामाग्री उत्पादन गरी इन्टरनेटमार्फत वितरण गर्नुलाई अनलाइन पत्रकारिता भनिन्छ । अनलाइन पत्रकारितामा सन्देश, प्रेषक र प्रापक दुवैले इन्टरनेटको माध्यम प्रयोग गर्दछन् । अक्सफोर्ड डिक्सरी अफ जर्नालिजमका अनुसार— अनलाइन पत्रकारिताले वेबसाइट, सामाजिक सञ्जाल, आरएसएस च्यानल, इमेल, न्युजलेटर र अरु अनलाइन माध्यमको प्रयोग गरी हुने समाचारको वितरणलाई समेट्दछ । प्रकाशक वा प्रसारकले एकतर्फी समाचार वितरण गर्ने परम्परागत सञ्चार माध्यमभन्दा स्पष्ट फरक, अनलाइन पत्रकारितामा अडियन्सले समाचार कहिले र कसरी प्राप्त गर्ने भन्ने आफै छनौट गर्न सक्छन्’ (हर्कप, २०१४) । नेपालको अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका, २०७३ ले दिएको परिभाषा अनुसार— ‘अनलाइन पत्रकारिता’ भन्नाले इन्टरनेटमा आधारित प्रविधिको प्रयोग गरी समाचार, सूचना, विचार, तस्विर वा श्रव्य दृश्यलागतका समाचारमूलक वा जानकारीमूलक सामग्रीहरुको उत्पादन, प्रकाशन, प्रसारण वा वितरणको प्रयोजनका लागि समाचार लेखन, सूचना वा दृश्य संकलन एवं सम्पादनसम्बन्धी प्राविधिक कार्य सम्झनु पर्छ भनेको छ ।
अझ भन्ने हो भने ‘न्यु मिडिया’ भनेको मिडियाको रूप हो जुन कम्प्यूटेशनल हो र पुनःवितरणको लागि कम्प्युटरमा निर्भर हुन्छ । न्यु मिडियाका केहि उदाहरणहरू— कम्प्युटर एनिमेसनहरू, कम्प्युटर गेमहरू, मानव–कम्प्युटर ईन्टरफेस, अन्तरक्रियात्मक कम्प्युटर स्थापनाहरू, वेबसाइटहरू र भर्चुअल संसार हो । अर्कोतर्फ प्रिन्ट मिडिया भनेको सञ्चारको पुरानो माध्यम हो ।
नेपालमा इन्टरनेटको व्यापक बजारिकरण र न्यु मिडियाले समाचार तुरुन्तै प्रवाह गर्न सक्ने भएकोले गर्दा सन् २०१६ देखि अनलाइन न्युज पोर्टलहरूमा लगानी र नयाँ दर्ताको संख्या अत्यधिक बढेको पाइन्छ । सन् २०२५ को अन्त्यसम्ममा प्रेस काउन्सिल नेपालमा ५,१२६ भन्दा बढी अनलाइन सञ्चार माध्यमहरू सूचीकृत भइसकेको अवस्था छ । यो सूचीकृत संख्यात्मक वृद्धिले परम्परागत मिडियाहरू—छापा, रेडियो तथा टेलिभिजन सञ्चार माध्यमलाई खुम्च्याउँदै लगेको देखिन्छ । खास गरी नेपालमा युवा पुस्ता र देशका शहरी क्षेत्रका पाठक, दर्शक तथा स्रोताहरू सूचना र समाचारका लागि सामाजिक सञ्जाल फेसबुक, युट्युब र टिकटक तथा अनलाइन न्युज पोर्टलहरू अत्यधिक प्रयोगमा ल्याएको पाउन सकिन्छ ।
Advertisement 2
नेपालमा वि.सं. २०७० को दशकपछि अनलाइन अर्थात न्यु मिडिया पत्रकारिताले परम्परागत रिपोर्टिङको अवस्थालाई पछाडि पार्दै प्रविधिमैत्री रिपोर्टिङको स्वरूप ग्रहण गर्न थालेको पाइन्छ । त्यसैले आधुनिक सञ्चारमाध्यमहरूले सरकारी जवाफदेहिता सुनिश्चित गर्न र जटिल तथ्याङ्कहरूलाई पनि सरल रूपमा देखाउन ’डाटा जर्नलिज्म र विभिन्न खालका ‘डिजिटल ट्र्याकर’ हरूको प्रयोग गर्न थालेको पाइन्छ ।
यसै क्रममा, नेपाली न्यूज पोर्टलहरूले आम पाठक, स्रोता र दर्शकहरुलाई अर्थात आम नागरिकहरूलाई सूचनाको हक ९च्ष्नजत तय क्ष्लायचmबतष्यल० प्रयोग गर्न सजिलो होस् भन्ने हेतुले प्रविधिमैत्री नवीन न्युज वेब एपहरू सञ्चालनमा ल्याएका पनि छन ्। उदाहरणका लागि, समाचार पोर्टल विचारधारा डटकम ले नेपालका युवा प्रधानमन्त्री बालेन शाहको १०० दिने कार्ययोजनाको प्रगति र सरकारको भ्रष्टाचार विरोधी अभियानको अद्यावधिक विवरण राख्न डिजिटल ट्र्याकिङ प्रणाली सार्वजनिकसम्म गर्न भ्याएको छ ।
Advertisement 3
यस्ता न्यु मिडियाका डिजिटल प्रयासहरूले नेपाली पत्रकारितालाई ‘वाचडग’ का रूपमा थप सशक्त बनाउन र सार्वजनिक सुशासनमा जनताको निगरानी बढाउन महत्त्वपूर्ण भूमिका खेलेका पनि छन् ।
प्रिन्ट मिडियामा पारेका प्रमुख प्रभावहरू
आर्थिक संकट र विज्ञापनमा गिरावटः न्यु मिडियाको उदयसँगै विज्ञापनको ठूलो भाग डिजिटल प्लेटफर्मतर्फ मोडिएको पाइन्छ । गुगल र फेसबुक जस्ता प्लेटफर्ममा विज्ञापन सस्तो र लक्षित वर्गसम्म पुग्ने भएकाले छापा पत्रिकाहरूको आम्दानीको स्रोत खुम्चिएको पाइन्छ । यसले गर्दा अहिले कतिपय पुराना र स्थापित राष्ट्रिय दैनिक, मासिक, पाक्षिक र साप्ताहिक पत्रिकाहरू बन्द हुने अवस्थामा पुगेका छन् र कतिपय बन्द पनि भएको पाइन्छ भने कतिपय स्थापित मिडिया हाउसहरूले प्रिन्ट संस्करण वन्दगरी डिजिटल संस्करणमा मात्र सीमित रही आफ्नो उपस्थिति देखाइरहेको अवस्थामा पुगेका छन् । अर्कोतर्फ कार्यरत श्रमजिवी पत्रकार तथा कर्मचारीहरूले समयमै आफ्नो पारीश्रमिक नपाउँदा घर धान्न नै मुश्किल पर्ने अवस्था पनि सिर्जना भएको छ । जसबाट लामोसमय पत्रकारिता गरिरहेका पत्रकाहरू पनि विस्तापित भई नयाँ काम गर्न बाध्य पनि भएका छन् ।
ब्रेकिङ न्युजको दबाबः कुनै बेला ‘हिजोको समाचार आजको पत्रिकामा’ पढ्ने चलन थियो । तर अहिले अधिकांश पाठकहरूले ताजा समाचार (ब्रेकिङ न्युज) अनलाइन न्युज पोर्टल र सामाजिक सञ्जाल मार्फत थाहा पाउने गरेका छन् । यसले गर्दा प्रिन्ट मिडियाले सूचना प्रवाहको गतिमा न्यु मिडियासँग प्रतिस्पर्धा गर्न नसक्ने स्थिति सिर्जना भएको मान्छि ।
लेखन–पठन संस्कृतिमा परिवर्तनः इन्टरनेट र मोबाइल फोनको सर्वसुलभ पहुँचले मानिसहरूको लेख्ने र पढ्ने तरिकामा परिवर्तन ल्याएको छ । लामो विचार र फिचर रिपोर्टभन्दा छोटो समाचार र भिडियो सामग्रीतर्फ आम पाठकको आकर्षण बढ्दो छ । सर्वेक्षण अनुसार ६४.४ प्रतिशत उत्तरदाताहरू छापा माध्यमको विकल्पमा अनलाइन मिडिया प्रयोग गर्न तयार रहेको देखिएका छन् ।
विश्वसनीयतामाथि थपिएको चुनौतीः न्यु मिडियाले समाचारलाई तीव्र बनाएपनि कतिपय अवस्थामा तथ्यहीन र भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने जोखिम पनि उत्तिकै बढाएको छ । यद्यपि, अझै पनि गम्भीर र आधिकारिक सूचनाका लागि कतिपय पाठकहरू परम्परागत मिडिया अर्थात प्रिन्ट मिडियालाई नै विश्वसनीय ठान्छन् ।
चुनौती र भविष्यको बाटो
नेपालमा प्रिन्ट मिडिया अहिले आफ्नो अस्तित्व बचाउने लडाइँमा छ । विश्व लामो समयदेखि रसिया र युक्रेनबीचको युद्ध, अमेरिका र इरानबीचको तनाब जस्ता कारणले बजारमा कागजको मूल्य बढ्दो छ, वितरण प्रणालीको जटिलता र घट्दो विज्ञापनले छापा माध्यमलाई टिकाइ राख्न थप दबाब सिर्जना भएको छ । अर्कोतर्फ, सञ्चारको क्षेत्रमा न्यु मिडियाको बाढीले व्यावसायिक पत्रकारिताको मूल्य–मान्यतामा पनि ह्रास आएको देख्न सकिन्छ ।
अहिलेको संकटबाट बच्न नेपाली छापा माध्यमहरूले ’डिजिटल–फस्र्ट’ रणनीति अपनाउन थालेका पनि छन् । गोरखापत्र, कान्तिपुर, अन्नपूर्ण, नागरिक र राजधानी दैनिक जस्ता ठूला प्रकाशन गृहहरूले आफ्ना अनलाइन पोर्टलहरूलाई थप सक्रिय बनाएका छन् र मल्टिमिडिया सामग्रीलाई जोड दिएका छन् ।
निष्कर्ष
नेपालमा न्यु मिडियाले प्रिन्ट मिडियालाई विस्थापन नै गर्नेभन्दा पनि रूपान्तरण हुन बाध्य पारेको देखिन्छ । छापा माध्यमले आफ्नो गम्भीरता र विश्वसनीयता जोगाउँदै डिजिटल प्रविधिलाई अङ्गाल्न सकेमामात्र प्रिन्ट मिडियाको भविष्य सुरक्षित देखिन्छ । अन्ततः सूचनाको माध्यममा परिवर्तन आएपनि सत्य र निष्पक्ष पत्रकारिताको आवश्यकता भने सधैँ नै रहनेछ ।
लेखकः नुमा कान्त पौडेल


