भेनेजुयलामा लगातार दुई शक्तिशाली भूकम्प: राजधानी कराकाससहित धेरै क्षेत्रमा भौतिक क्षति

रोयटर्स समाचार फुटेज
असार ११, दाङ— दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलामा बुधबार केही सेकेन्डको अन्तरालमा दुईवटा ठूला भूकम्प गएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार सुरुमा ७.२ म्याग्निच्युडको र त्यसको करिब ४० सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो ।
दुवै भूकम्पको केन्द्रविन्दु राजधानी कराकासको पश्चिमी क्षेत्रमा रहेको थियो । भूकम्पका कारण राजधानी कराकाससहित विभिन्न क्षेत्रका भवन तथा घरहरू भत्किएका छन् ।
प्रारम्भिक मूल्याङ्कनअनुसार मृतक संख्या १० हजारभन्दा बढी पुग्ने सम्भावना ४४ प्रतिशत रहेको बताइएको छ, यद्यपि समाचार तयार पार्दासम्म आधिकारिक क्षतिको विवरण सार्वजनिक नभएको बीबीसीले जनाएको छ ।
भूकम्प स्थानीय समयअनुसार साँझ ६:४ बजे गएको थियो । त्यस दिन भेनेजुएलामा राष्ट्रिय बिदा परेकाले धेरै मानिस घरमै रहेका बेला भूकम्प आएको थियो ।
भूकम्प लगत्तै भागाभाग हुँदा हजारौँ नागरिक ज्यान जोगाउन घर र कार्यालय छाडेर सडकमा निस्किएका थिए। मानवीय क्षतिको विवरण आउन बाँकी भए पनि क्षति ठूलो हुन सक्ने अनुमान गरिएको छ ।
भेनेजुएलाका गृहमन्त्री डियोस्दादो काबेलोले केही संरचनाहरू भत्किएको पुष्टि गर्दै थप जोखिमबाट बच्न नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।
भूकम्पको धक्का देशभर महसुस गरिएको थियो भने छिमेकी कोलम्बियाको राजधानी बोगाटासम्म पनि कम्पन महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उद्धार तथा खोजी कार्य जारी रहेको छ । (एजेन्सीहरुबाट)
प्रकाशित :२०८३ असार ११, बिहीबार ०८:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]