नेपाली कांग्रेस १५औँ महाधिवेशनका लागि ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
आश्विन ४, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार र आइतबार गरी ७३ जिल्लाका वडाहरुमा वडा कार्यसमिति चयन तथा क्षेत्रीय प्रतिनिधि चुन्नको लागि निर्वाचन भएको हो ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने हालसम्म वडा अधिवेशन हुन सकेको छैन ।
निर्वाचन कार्यक्रमअन्तर्गत कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ (क्षेत्र नं. ६ बाहेक) र सुनसरीलगायत जिल्लाका अधिकांश वडामा अधिवेशन सम्पन्न भएको छ ।
त्यस्तै, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा पनि वडा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार रसुवा, नुवाकोट र धादिङबाहेक सप्तरीका क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २, नवलपरासी (पश्चिम) क्षेत्र नं. २ तथा असोज ४ गते सम्पन्न हुन नसकेका सबै वडा अधिवेशन असोज ५ गते सोमबार निरन्तर सञ्चालन हुनेछन् ।
नेपाली कांग्रेस पार्टीको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

