इरानमा अमेरिकी सेनाद्वारा भीषण हवाई आक्रमण, १७० भन्दा बढी ठेगानाहरू निशानामा

काठमाडौं, असार २६ । पछिल्लो २ दिनमा इरानका १७० भन्दा बढी सैन्य केन्द्रहरूमा अमेरिकाले आक्रमण गरेको बताएको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टीकम) का अनुसार आक्रमण गरिएका स्थानहरूमा एयर डिफेन्स सिस्टम, ड्रोन भण्डार र तटीय सैन्य अखडाहरू रहेका छन् ।
यसको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकालाई होर्मुज स्ट्रेटमा दखल दिए कडा जवाफ दिने चेतावनी दिएको छ। बहराइन र कुवेतमा रहेका अमेरिकी फिफ्थ फ्लीट मुख्यालय र अली अल-सलेम एयर बेससहित ८५ अमेरिकी सैन्य अखडामा आईआरजीसीले मिसाइल र ड्रोन हमला गरेको दाबी गरेको छ ।
इरानी समाचार एजेन्सीका अनुसार, अमेरिकी हमला जारी रहे होर्मुजको स्थिति सामान्य हुन नसक्ने र यस रुटमा निर्भर धेरै देशहरूले आर्थिक नोक्सानी व्यहोर्नुपर्ने इरानले बताएको छ । उत्तरी इरानमा चीन र रुससँग जोडिएको एक रणनीतिक रेलवे पुलमा अमेरिकाले क्रुज मिसाइल प्रहार गरेको छ ।
नेटो शिखर सम्मेलनमा इरानसँगको युद्धविराम सम्झौता अन्त्य भइसकेको र अब इरानसँग कुनै सम्झौता नगर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
तर अमेरिकी अधिकारीहरूले इरानसँग कूटनीतिक समाधान खोज्ने प्रयासस्वरूप प्राविधिक स्तरको वार्ता अझै जारी रहेको दाबी गरेका छन्। कतार र पाकिस्तान जस्ता देशहरूले मध्यस्थताको प्रयास गरिरहेका छन् ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि धम्कीको माहोलमा अमेरिकासँग कुनै वार्ता वा सम्झौता नहुने स्पष्ट पार्दै अमेरिकाले पुराना सम्झौताहरूको सम्मान गर्नुपर्ने बताएका छन् । तनावका बीच इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीलाई बिहीबार मशहद सहरस्थित इमाम रजा दरगाहमा अन्त्येष्टि गरिएको छ। डेढ करोडभन्दा बढी मानिस सहभागी भएको भनिएको उक्त सात दिने अन्तिम बिदाइ कार्यक्रम युद्धको त्रासकै बीच सम्पन्न भएको हो । बिहीबार इरानको बुशहर आणविक केन्द्र नजिकै लगायतका दक्षिणी क्षेत्रमा विष्फोटका आवाजहरू सुनिए पनि अमेरिकी अधिकारीहरूले ती नयाँ हमलाहरू आफूहरूले नगरेको स्पष्ट पारेका छन् ।
अमेरिकी सेनाले होर्मुज स्ट्रेटमा इरानको मात्र नियन्त्रण नरहेको दाबी गर्दै त्यहाँबाट ८०० भन्दा बढी व्यापारिक जहाजहरू सुरक्षित रूपमा पठाइएको जनाएको छ । कतार र यूएईले कुवेत र बहराइनमाथि इरानले गरेको मिसाइल हमलाको कडा निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेका छन् । (एजेन्सीहरूको सहयोगमा)

