इरानको हर्मुज जलडमरूमध्यमा तेल ट्याङ्करमा भीषण आगलागी

कोलोराडो, श्रावण २ | इरानको हर्मुज जलडमरूमध्यमा दुईवटा तेल ट्याङ्करमा भीषण आगलागी भएको दाबी इरानले गरेको छ । इरानको सरकारी समाचार एजेन्सीले इस्लामी क्रान्तिकारी गार्ड कर्प्स (आईआरजीसी) लाई उद्धृत गर्दै शनिबार दिएको जानकारी अनुसार बारुदी सुरुङ (माइन) विछ्याइएको मार्गबाट अघि बढ्न खोज्दा ती ट्याङ्करहरूमा आगलागी भएको हो ।
घटनालगत्तै इरानी सेना (आईआरजीसी) ले हर्मुज जलडमरूमध्य अत्यन्त असुरक्षित बनेको भन्दै अर्को सूचना नआएसम्मका लागि यो रणनीतिक जलमार्ग पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ ।
अमेरिकी गुप्तचर एजेन्सीहरूले ती जहाजहरूलाई झुक्याएर उक्त बारुदी सुरुङ क्षेत्रमा प्रवेश गराएको दाबी इरानको छ । अमेरिकी केन्द्रीय कमान्डले इरानको यो दाबीलाई पूर्ण रूपमा झूटो भन्दै खण्डन गरेको छ । स्वतन्त्र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि इरानको दाबीलाई पुष्टि गर्न नसकिएको बताएका छन् ।
विश्वको झन्डै २० प्रतिशत तेल तथा ग्यास ओसारपसार हुने यो व्यस्त जलमार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय ऊर्जा बजार र ढुवानी सुरक्षामा ठुलो धक्का लाग्ने अनुमान गरिएको छ ।

