भोटेकोशी नदीमा भीषण बाढी, तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

भाद्र १०, काठमाडौँ । चीनको तिब्बततर्फ आएको ठूलो बाढी भोटेकोशी र त्रिशूली नदीमा प्रवेश गरेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
Advertisement 1
बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले भदौ १० गते बिहान करिब ९ बजेको समयमा तिब्बततर्फबाट भोटेकोशी नदीमा ठुलो मात्रामा पानीको बहाव प्रवेश गरेको हो ।
यो बाढी अहिले रसुवा हुँदै नुवाकोटको विदुरभन्दा तल पुगिसकेको र यसले माथिल्लो क्षेत्रमा ठुलो क्षति पुर्याएको प्रारम्भिक सूचना प्राप्त भएको पराजुलीले बताएका छन् ।
Advertisement 2
पराजुलीले विभागले रसुवा, नुवाकोट, धादिङ र चितवनका तटीय क्षेत्रहरूलाई उच्च जोखिमको सूचीमा राखेको पनि जानकारी दिए । विशेष गरी त्रिशूली नदी र मर्स्याङ्दीको दोभानसम्मको क्षेत्रलाई अति उच्च जोखिम मानिएको छ । बाढी मुग्लिनसम्म पुग्न करिब ४ देखि ५ घण्टा लाग्ने अनुमान गरिएको छ, त्यसैले आज बेलुकीसम्म नै विशेष सावधानी अपनाउनु पर्ने पराजुलीले बताए ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै विभागले पृथ्वी राजमार्ग र त्रिशूली नदी किनारका अन्य कोरिडोर राजमार्गहरूमा आवागमन नगर्न र सम्भव भएसम्म यातायात बन्द गर्न सुझाव दिएको छ ।
Advertisement 3
नदी किनारका बस्ती, घर र कृषि क्षेत्रमा रहेका नागरिकहरूलाई तत्काल सुरक्षित र उचाइ भएको स्थानमा जान पनि आग्रह गरिएको पराजुलीले बताए ।
त्रिशूलीमा पानीको सतह बढ्दा तादी, बुढीगण्डकी र मलेखु लगायतका सहायक नदीहरूमा पनि पानी फर्किने हुनसक्ने भएकाले ती क्षेत्रमा पनि सावधानी अपनाउन भनिएको उनको भनाइ रहेको छ ।
यो बाढी वर्षाका कारण नभई आकस्मिक रूपमा आएको देखिएकाले तिब्बतमा हिमताल विस्फोट भएको हुनसक्ने आशङ्का गरिए पनि यसबारे थप जानकारीका लागि चिनियाँ अधिकारीहरूसँग समन्वय र उपग्रहबाट अध्ययन भइरहेको पराजुलीले जानकारी दिए ।

