काठमाडौं | भदौ २१— नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आफ्नो जन्मदिनको अवसरमा एसिडपीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गर्नुभएको छ।
गत भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए। एसिड प्रहारवाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ। नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले ५० हजार नगद प्रदान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ।
सहयोग रकम प्रदान गर्दै मन्त्री भट्टराईले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताउनुभयो। उहाँले भन्नुभयो–‘मलाई विश्वास छ, तपाई भविष्यमा डाक्टर बन्नुहुनेछ। मैले अहिले दिएको सहयोग बैंकमा जम्मा गरेर भोलि डाक्टर पढ्ने बेलामा खर्च गर्नुहोला।’ उहाँले एसिड पीडित बालिका खातुनसँग अप्ठेरो बेलामा मात्र नभएर सजिलो बेला पनि जीन्दगीभर सम्बन्ध रहिरहने बताउनुभयो। पीडित बालिकालार्ई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिन अघि बालुवाटारमा बोलाएर उनको शिक्षाको सबै प्रबन्ध गरिने वचन दिनुभएको थियो।
जन्मदिनमा भोजभतेरमा गरिने खर्चले कुनै अर्थ नराख्ने भएकाले उक्त रकम मन्त्री भट्टराईले सामाजिक र परोपकारी काममा प्रयोग गर्दै आउनुभएको छ।
जन्मदिनमा भोजभतेरमा गरिने खर्चले कुनै अर्थ नराख्ने भएकाले उक्त रकम मन्त्री भट्टराईले सामाजिक र परोपकारी काममा प्रयोग गर्दै आउनुभएको छ। २०७२ सालदेखि मन्त्री भट्टराईले नियमितरुपमा आफ्नो जन्मदिनमा असहाय, पीडित, विपन्न बालबालिकालाई सहयोग गर्दै आउनु भएको छ ।
०७२ को महाभूकम्पमा बाबु गुमाएका काठमाडौं मनमैजुका बालक विराज अधिकारीलाई सहयोग गरेर यो खालको कामको शुरुवात गर्नुभएका मन्त्री भट्टराईले ०७३ सालको जन्मदिनमा बाबु आमाले लिएको ऋण तिर्न नसकेपछि गोठालो बसेका दोर्जी शेर्पालाई उद्धार गरी काठमाडौं ल्याएर पठनपाठनको व्यवस्था मिलाउनु भएको थियो।
०७४ को जन्मदिनमा दुवै भल्व फेर्नुपर्ने समस्याबाट पीडित मुटुरोगी ताप्लेजुङका मिलन शेर्पाको उपचारमा सहयोग गर्नुभएको थियो। ०७५ को जन्मदिनमा ताप्लेजुङका खविपन्न दुई बालक गंगा विक र कमल विकलाई अध्ययन खर्चस्वरुप नगद सहयोग प्रदान गर्नुभएको थियो। गत वर्षको जन्मदिनमा मन्त्री भट्टराईले पढाइ लेखाईमा अप्ठेरोमा परेका दृष्टिविहीन आमाबुबाका सन्तान ताप्लेजुङका समीर राईलाई सहयोग गर्नुभएको थियो।