रोकिने जोखिममा परेको डिभी २०२७ नोभेम्बर १ देखि खुल्ने, पासपोर्ट अनिवार्य र १ डलर शुल्क लाग्ने

कोलोराडो (अमेरिका), कार्तिक १ | अमेरिकामा स्थायी बसोबास (ग्रीन कार्ड) को अवसर पर्खिरहेका नेपालीहरूका लागि एउटा महत्त्वपूर्ण समाचार छ । अमेरिकी संघीय अदालतको संशोधित आदेशपछि स्थगनको जोखिममा परेको सन् २०२७ को डाइभर्सिटी भिसा (डीभी) लोटरीको आवेदन नोभेम्बर १ देखि खुल्ने भएको छ ।
क्यालिफोर्नियाको दक्षिणी जिल्ला अदालतकी न्यायाधीश जिनसुक ओहताले अमेरिकी विदेश मन्त्रालयलाई नोभेम्बर १ को मध्यरात (अमेरिकी समय) सम्म डिभी २०२७ को आवेदन दर्ता खुला गर्न र डिसेम्बर ३ सम्म छनोटमा परेका आवेदकहरूलाई सूचित गर्न आदेश जारी गरेकी छन् ।
अदालतको संशोधित आदेशअनुसार अमेरिकी विदेश मन्त्रालयले अक्टोबर २९ को मध्यरातसम्म डिभी २०२७ को आवेदन दर्ता अवधि सार्वजनिक गरिसक्नुपर्नेछ । उक्त सूचनामा आवेदन खुल्ने र बन्द हुने मिति, अनलाइन आवेदन दिने वेबसाइट र आवश्यक योग्यताबारे स्पष्ट जानकारी समावेश हुनुपर्ने आदेशमा उल्लेख छ । अदालतले आवेदन दर्ता अवधि कम्तीमा ३० दिनसम्म खुला राख्न भनेको छ ।
शुरुमा अदालतले अक्टोबर १५ सम्म मिति घोषणा गर्न र अक्टोबर १८ सम्म आवेदन खुलाउन आदेश दिएको थियो। तर, दुवै पक्षको संयुक्त निवेदनपछि अदालतले समयसीमा संशोधन गर्दै नयाँ मिति तोकेको हो:
  • दर्ता मिति घोषणा गर्ने अन्तिम समय: अक्टोबर २९ को मध्यरातसम्म ।
  • अनलाइन आवेदन दर्ता खुला हुने: नोभेम्बर १ को मध्यरातदेखि ।
  • विजेताहरूलाई नतिजा सूचित गर्ने: डिसेम्बर ३ को मध्यरातसम्म ।
डिभी २०२७ को आवेदन प्रक्रियामा केही नयाँ र कडा नियमहरू समावेश गरिएका छन्, जसमा: आवेदकले आफ्नो वैध राहदानीको विवरण मात्र नभई व्यक्तिगत जानकारी उल्लेख भएको मुख्य पृष्ठको प्रतिलिपि (स्क्यान) समेत उपलब्ध गराउनुपर्नेछ । त्यसैगरी विदेश मन्त्रालयको नयाँ व्यवस्थाअनुसार यस पटकदेखि १ अमेरिकी डलर आवेदन शुल्क लागू गरिएको छ ।
डिभी लोटरीमा छनोट हुँदैमा अमेरिकाको भिसा सुनिश्चित भने हुँदैन । छनोट भएका आवेदकहरूले तोकिएका सबै कानुनी मापदण्ड, शैक्षिक वा कार्य अनुभवको योग्यता पूरा गर्नुपर्नेछ । योग्य आवेदकहरूको भिसा प्रक्रिया कोटा समाप्त नभएसम्म वा सन् २०२७ सेप्टेम्बर ३० सम्म जारी रहने समाचारमा उल्लेख छ ।
प्रकाशित :२०८३ कार्तिक २, आईतवार ०२:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]