पाँच प्रदेशमा भित्रियो मनसुन: विस्तार हुन अझै केही दिन लाग्ने

काठमाडौं, असार ८ — नेपालमा यस वर्षको मनसुन प्रणाली क्रमिक रूपमा देशका विभिन्न भूभागमा फैलिन थालेको छ। जल तथा मौसम विज्ञान विभागले जारी गरेको पछिल्लो ‘मनसुन आगमन बुलेटिन’ अनुसार हालसम्म यो प्रणाली देशका पाँचवटा प्रदेशमा भित्रिइसकेको छ ।
Advertisement 1
कहाँ–कहाँ पुग्यो मनसुन
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु अहिले कोशी प्रदेशको सम्पूर्ण भू(भागमा फैलिसकेको छ। यसका साथै मधेश प्रदेश र बागमती प्रदेशका अधिकांश स्थानमा पनि यसको प्रभाव देखिन थालेको छ। यता गण्डकी प्रदेशको केही भू(भाग र लुम्बिनी प्रदेशको पूर्वी भू(भागका थोरै स्थानहरूमा मात्र यो प्रणालीले प्रवेश पाएको छ ।
सरदर मितिभन्दा ६ दिन ढिलो आगमन
नेपालमा सामान्यतया जुन १३ तारिख आसपासमा मनसुन भित्रिने सरदर मिति मानिन्छ । तर, यस वर्ष भने सरदर समयभन्दा ६ दिन ढिलो गरी गत जुन १९ (असार ५ गते) मात्रै कोशी प्रदेशको पूर्वी भेगबाट मनसुन नेपाल प्रवेश गरेको थियो। यसअघिका वर्षहरूमा मनसुन चाँडै वा ढिलो भित्रिने गरे पनि यसपटकको आगमन केही सुस्त देखिएको छ ।
Advertisement 2
हाल कमजोर अवस्था, बाँकी क्षेत्रमा फैलिन समय लाग्ने
प्रवेश गरिसकेका क्षेत्रमा पनि मनसुन अहिले नै पूर्ण रूपमा सक्रिय भइसकेको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल यो प्रणाली तुलनात्मक रूपमा कमजोर अवस्थामा रहेको छ । त्यसैले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका बाँकी पश्चिमी भू–भागहरूमा मनसुन विस्तार हुन अझै केही दिन लाग्ने मौसमविद्हरूको अनुमान छ ।
मनसुनी वायु कमजोर रहेकाले देशका कतिपय भू–भागमा अझै पनि स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभाव कायमै छ । पूर्ण रूपमा मनसुन सक्रिय नहुन्जेलसम्म देशका बाँकी क्षेत्रमा गर्मीको प्रभाव रहने र पहाडी भेगमा साधारण बदली भई हल्का वर्षा हुने सम्भावना रहन्छ । महाशाखाले यस प्रणालीको गति र प्रभावलाई निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।


