फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्पको धक्का, हालसम्म ३२ जनाको मृत्यु

एजेन्सी, जेष्ठ २५, काठमाडौं— फिलिपिन्सको दक्षिणी मिन्डानाओ टापुलाई केन्द्रविन्दु बनाएर आज सोमवार बिहान ७ः३७ बजे ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण हालसम्म कम्तीमा ३२ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १३० भन्दा बढी मानिस घाइते भएका छन् ।
भूकम्पका कारण सरङ्गानी प्रान्त र जनरल सान्तोस सहरमा ठूलो क्षति पुगेको छ । एक स्थानीय विद्यालय र प्रख्यात ‘जोलीबी’ रेस्टुरेन्टको भवन पूर्ण रूपमा क्षति भएको छ । विद्यालयमा बिहानको प्रार्थना भइरहेका बेला भूकम्प गएपछि विद्यार्थीहरूबीच भागदौड मच्चिएको थियो ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा करिब ३३ किलोमिटर गहिराइमा समुद्रभित्र रहेको थियो ।
भूकम्प लगत्तै फिलिपिन्स, इन्डोनेसिया र जापानका तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको थियो। समुन्द्रमा करिब १ मिटरसम्मको छाल देखिएपछि तटीय क्षेत्रका हजारौँ नागरिकलाई सुरक्षित र उच्च स्थानमा सारिएको छ ।
मुख्य धक्कापछि हालसम्म १३० भन्दा बढी परकम्पहरू गइसकेका छन् । भूकम्पविद्हरूले अझै पनि शक्तिशाली परकम्पहरू आउन सक्ने भन्दै स्थानीयलाई सतर्क रहन चेतावनी दिएका छन्।सरकारी कदमस् राष्ट्रपति फर्डिनान्ड मार्कोस जूनियरले प्रभावित क्षेत्रका सबै सरकारी तथा निजी विद्यालय र कलेजहरू बन्द गर्न निर्देशन दिएका छन् । प्रभावित क्षेत्रमा नेपाली समय अनुसार अहिले पनि सेना र विपद् व्यवस्थापन टोलीहरूले भग्नावशेषमा फसेकाहरूको उद्धार गरिरहेका छन् ।


