इरान–इजरायलबीच फेरि तनाव शुरु, इरानद्धारा हवाई क्षेत्र बन्द

आईआरजीसीले ती आक्रमणलाई केवल “प्रारम्भिक चेतावनी” भन्दै इजरायलले
सैन्य कारबाही जारी राखे थप कडा प्रतिक्रिया दिइने चेतावनी दिएको छ।
एजेन्सी, जेष्ठ २५, काठमाडौं— इरान र इजरायलबीचको तनाव थप चर्किएको छ । इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि आफ्नो पश्चिमी क्षेत्रको हवाई क्षेत्र बन्द गरेको छ भने क्षेत्रीय सुरक्षालाई मध्यनजर गर्दै इराक र सिरियाले पनि हवाई उडानमा प्रतिबन्ध लगाएका छन् ।
Advertisement 1
इरानी सरकारी समाचार एजेन्सी इर्नाका अनुसार राष्ट्रिय नागरिक उड्डयन संगठनका प्रवक्ता मजिद अखभानले सुरक्षा अवस्थाको मूल्यांकनपछि अर्को सूचना जारी नभएसम्म पश्चिमी हवाई क्षेत्र बन्द गरिएको जानकारी दिएका छन् ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले लेबनानको राजधानी बेरुत माथि इजरायलले गरेको आक्रमणको जवाफस्वरूप हालैका क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ ।
Advertisement 2
आईआरजीसीले ती आक्रमणलाई केवल “प्रारम्भिक चेतावनी” भन्दै इजरायलले सैन्य कारबाही जारी राखे थप कडा प्रतिक्रिया दिइने चेतावनी दिएको छ।
आईआरजीसीले जारी गरेको विज्ञप्तिमा इजरायलले आक्रमण नरोके क्षेत्रभर रहेका अमेरिकी र इजरायली सैन्य तथा रणनीतिक संरचनाहरू समेत निशानामा पर्न सक्ने उल्लेख गरिएको छ ।
Advertisement 3
यसैबीच, इरानको खातम अल–अम्बिया सेन्ट्रल कमान्डका प्रमुख जनरल अली अब्दोल्लाहीले दक्षिणी लेबनान र बेरुतका उपनगरमाथि भइरहेको इजरायली आक्रमण तत्काल रोक्न आग्रह गरेका छन् । उनले इजरायलले आफ्नो सैन्य अभियान विस्तार गरे अझ विनाशकारी प्रतिआक्रमणको सामना गर्नुपर्ने चेतावनी दिए ।
उता, इजरायली सेनाले इरानबाट प्रहार गरिएका दुई चरणका क्षेप्यास्त्र आक्रमणहरू सफलतापूर्वक निष्क्रिय बनाइएको दाबी गरेको छ ।
सामाजिक सञ्जाल एक्समार्फत जारी विज्ञप्तिमा इजरायली सेनाले हालसम्म प्रहार गरिएका सबै क्षेप्यास्त्रहरूलाई हवाई प्रतिरक्षा प्रणालीमार्फत बीचमै रोकेको जनाएको छ ।
सेनाले थप आक्रमणको जोखिम अझै कायम रहेको भन्दै हवाई रक्षा प्रणाली उच्च सतर्कतामा राखिएको जानकारी दिएको छ ।
तनाव थप बढ्न सक्ने चिन्ताबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।
अनलाइन सञ्चारमाध्यम एक्सियोससँगको संक्षिप्त कुराकानीमा ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सँग सम्पर्क गरेर थप जवाफी आक्रमण नगर्न आग्रह गर्ने बताए ।


